बिहीबार, ८ असोज, २०८३ (1789841700)
आइतबार असोज ४, २०८३

सोलुखुम्बुका ५२ वटा वडामा सकियो नेपाली काग्रेसको अधिवेशन 

  सोलुखुम्बु:  नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लामा वडा अधिवेशन उत्साहजनक रुपमा सकिएको छ । केन्द्रीय तालिका अनुसार देशैभर एकैपटक सञ्चालन गरिएको दुई दिने वडा अधिवेशनका क्रममा सोलुखुम्बुका ५२ वटा वडामा अधिवेशन पूर्ण रूपमा सम्पन्न भइसकेको हो ।     नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेका अनुसार हिजो शनिबार १७ वटा वडामा अधिवेशन सकिएको थियो भने आज आइतबारसम्ममा जिल्लाका ५२ वटा वडामा अधिवेशन सम्पन्न भएको हो। सबैजसो वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन शान्तिपूर्ण रूपमा सकिएको छ । यद्यपि लिखु पिके गाउँपालिका वडा नम्बर २ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ मा भने खबर प्राप्त हुँदासम्म अधिवेशनको प्रक्रिया जारी नै रहेको छ ।  

यसपटक अधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयनका लागि नेता तथा कार्यकर्ताहरूबीच निकै तीव्र प्रतिस्पर्धा र रस्साकस्सी देखिएको छ । नेपाली कांग्रेसको विधानअनुसार वडा तहदेखि केन्द्रीय कमिटीसम्मको नेतृत्व वा पदमा चुनिनका लागि क्षेत्रीय प्रतिनिधि हुनु अनिवार्य छ । केन्द्रीय सभापति स्वयंले पनि केन्द्रीय तहको राजनीतिमा प्रतिस्पर्धा गर्न क्षेत्रीय प्रतिनिधि चुनिनै पर्ने वैधानिक व्यवस्था रहेकाले तल्लो तहदेखि नै नेता–कार्यकर्ताहरू आफ्नो स्थान सुरक्षित गर्न सक्रिय रूपमा लागेका हुन्।    देशभरका वडाहरूमा आज पनि वडा कमिटीहरूको अधिवेशन र नेतृत्व चयनको कार्य निरन्तर चलिरहेको छ । सोलुखुम्बुमा पनि बाँकी रहेका वडाहरूको प्रक्रिया सकेर पालिकास्तरीय अधिवेशनको तयारीमा जुट्ने तयारी भइरहेको छ ।