बिहीबार, ८ असोज, २०८३ (1789496100)
बुधबार भदौ ३१, २०८३

सोताङ गाउँपालिका उपाध्यक्ष राईविरुद्ध अख्तियारद्धारा भष्टाचार मुद्धा दायर  

 सोलुखुम्बु :  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गर्नुभएको थियो ।  उक्त रकम उहाँले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ । 
पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्तियारले गरेको छ।  यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको छ । यस्तै प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाइएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।